काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने खेल भए त्यसकाविरूद्ध उभिने बताएका छन् । बिहीवार केन्द्रीय समितिको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले दोषीलाई छोड्ने र निर्दोषलाई फसाउने खेल भए त्यसविरुद्ध आफू र आफ्नो पार्टी दृढतापूर्वक उभिने चेतावनी दिएका हुन्।
अध्यक्ष ओलीले भने, ‘दोषीलाई छोड्न खोजियो भने दृढतापूर्वक त्यसको विरूद्ध उभिन्छौं। आन्दोलनमा उत्रिन्छौं । निर्दोषलाई फसाउन खोजियो भने त्यसमा पनि हाम्रो समर्थन रहँदैन, हाम्रो विरोध हुन्छ। निर्दोषलाई दोषी बनाउन खोज्नु अर्को अपराध हो।’
उनले सरकार पक्ष कसलाई जोगाउने र कसलाई समात्ने भन्ने खेलमा लागेको आरोप लगाए। टोपबहादुर रायमाझी र उनका छोराविरूद्ध पक्राउ पुर्जी जारी हुँदा केही मानिसहरूले चम्कीचम्की वक्तव्यबाजी गरेको ओलीले बताए। ‘तर म संयमित भएर प्रधानमन्त्रीलाई नै भेटेर दोषी नउम्कियोस्, निदोर्ष नफसुन् भनेको थिएँ,’ ओलीले भने।
उनले अहिलेको परिस्थितमा यो विषय प्रधानमन्त्री र गृहमन्त्रीको हातमा नरहेकोसमेत बताए। ‘अहिले हिरो हुन खोजिराछन् कोही मान्छेहरू । म कुनै हालतमा छोड्दिनँ भन्छन् । उनका हातमा भएको भए हिजो यो मुद्दा चल्थ्यो? मान्छे गिरफ्तार हुन्थे?’