काठमाडौँ । उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठसमक्ष जनमुक्ति युवा मञ्चले नक्कली भुटानी शरणार्थी तथा प्रदेश १ को नाम कोशी राखिएकोप्रति ध्यानकर्षण भएको ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा भनिएको छ –“आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानव तस्करी भएको, राज्यको उच्च तहमा रहेकाहरूले नै निजी लाभ र स्वार्थका निम्ति राज्य शक्तिको चरम दुरुपयोग गरी नेपालको स्वाभिमानमा अन्तर्राष्ट्रिय रुपमा लज्जाबोध गराएको प्रकरणप्रति जनमुक्ति युवा संघको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने कार्य गम्भीर राष्ट्रिय अपराध हो ।”
यस्ता देशघाती अपराधका प्रकरणलाई कडा कारवाहीको दायरामा ल्याउन उपप्रधान तथा गृहमन्त्रीले तदारुकताका साथ अभियुक्तहरूलाई पक्राउ गर्न माग गरेको छ ।
वुँदागत रुपमा राखेको मागमा भ्रष्टाचारलाई आर्थिक अपराध, पदीय दुरुपयोग र नैतिकहिनताको विषय मात्र नभई देशद्रोह सरहको राष्ट्रिय अपराध भएको युवा मञ्चले ठहर गरेको छ ।
अपराधका प्रमाणहरूका आधारमा अपराधीहरू गिरफ्तार गरिईसकेपछि निजहरूलाई थप अनुसन्धानका आवरणमा र कुनै पनि दवाबका आधारामा उन्मुक्ति दिने कार्य नगर्न युवा मञ्ले आग्रह गरेको छ ।
भ्रष्टाचारीहरूलाई न्यूनतम् जन्मकैद र सम्पत्तिको राष्ट्रियकरण गर्ने व्यवस्था मिलाउन तथा जति ठूलो पदमा बसी भ्रष्टाचार गरिएको छ त्यस्ता भ्रष्टाचारीहरूलाई थप कडा सजायको व्यवस्था मिलाउन पनि युवा मञ्चको माग छ ।
त्यसैगरी प्रदेश नं. १ को नामाकरण ‘कोशी’ राखिएको विरोधमा त्यस प्रदेशमा क्रमशः उठीरहेको आन्दोलनका क्रममा शान्तिपूर्ण रुपमा राके जुलुशमा सहभागीहरूमाथि गोली चल्नु अत्यन्तै दुःखद कुरा भन्दै यस विषयमा उपप्रधान तथा गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण हुनु पर्ने माग गरेको छ । प्रदेश नं. १ को विषयलाई वार्ता र सम्वादबाट राजनीतिक निकासका लागि संघीय सरकारले नै विशेष पहल गर्नुपर्ने माग रहेको छ ।