काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारको छानविन गर्ने भए आफूबाट छानबिन सुरु गर्न आग्रह गरेका छन् । युवा संघ नेपाललले विहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सर्प काण्ड भनेर आफूलाई बदनाम गर्न खोजिएको भन्दै त्यसको उचित छानविन गरेर सत्य तथ्य सार्वजनिक गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।
उनले भने, ‘सर्पदंशबाट बचाउन भनेर चलेको परियोजनामा आफ्नो कुनै संलग्नता भेटियो, एक पैसा मात्रै दुरूपयोग भएको छ भने म अहिले नै हतकडी लगाउन तयार छु । देशमा भ्रष्टाचार निवारण गर्ने हो भने झलनाथ खनालबाट छानबिन सुरू गर्नुस् ।’
२०७० सालमा चुनाव प्रचारका क्रममा सर्लाहीमा सर्पले डसेर मृत्यु भएको बालकको घरमा पुगेको र त्यही पीडाबाट विक्षिप्त भएर पार्टीकै नेताहरूले भेनम उत्पादन गर्ने परियोजना अघि बढाएको प्रष्टीकरण दिंदै आफ्नो नाम राख्न स्वीकृति दिएको तर आफ्नो अन्य कुनै संलग्नता नरहेको उनले प्रष्ट्याए । ६० वर्षे राजनीतिक जीवनमा आफूले आपराधिक सोच नपालेको बताए ।
यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले निष्क्रिय भइसकेको विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको अवमूल्यन गरेको बताए । ‘अघिल्लोपटक राष्ट्रपतिले त्यसै रोकिएदिएर छलफल हुन पाएन । यसपटक राष्ट्रपतिले पनि प्रमाणीकरण गर्नुभयो,’ त्यस उपर उचित छलफल र परामर्श नै हुन पाएन ।’, उनले भने ।
नागरिकता विधेयक प्रमाणीकरणका लागि पठाउने अधिकार सभामुखमा निहित भएको भन्दै अहिले गलत बाटो प्रयोग गरी विधेयक आएको र जुन संविधान विपरीत भएको उनले बताए ।
यस्तै, पूर्वप्रधानमन्त्री खनालले टिकापुर घटनामा दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको दिन आम माफी दिनु गलत भएको बताए ।