November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्रीको भारत भ्रमण के हो भन्ने छुट्याउन सकिएन, धार्मिक हो कि तीर्थाटन ?– केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल मिचिएको बताए । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले प्रधानमन्त्री प्रचण्डले भारतीय पक्षसँग छलफल गर्दा सरकारका मन्त्री र कर्मचारीभन्दा आफ्नी छोरीलाई प्राथमिकतामा राखेको बताएका हुन् ।

प्रोटोकल अनुसार दुई देशका कार्यकारीबीच छलफल हुँदा प्रधानमन्त्रीको छेउमा परराष्ट्रमन्त्री, अन्य मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका कर्मचारी हुनुपर्नेमा छोरी बस्नुले प्रोटोकल मिचिएको उनले बताए । ‘उहाँको छेउमा पिए छोरी राख्नुभएको छ, परराष्ट्रमन्त्री राख्नुभएको छैन । परराष्ट्र सचिव छैन । परिवारको सदस्य राख्नुभएको छ ।’, उनले भने ।

ओलीले परिवारको सदस्य फसर््ट लेडी नहुने बताए । ‘फर्स्ट लेडी परिवारको सदस्य हुँदैन। भोली नाति नातिनी लिएर जानुभयो भने के भन्ने ? यस्तो तौरतरिकाले विदेश सम्बन्धहरू हुन्छ ?’, उनले प्रधानमन्त्रीलाई प्रश्न गरे ।

Advertisement

प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमण मर्यादित अफिसियल बनाउनुपर्नेमा के हो भन्ने छुट्याउन नसकिएको ओलीले बताए । ‘यो त फेमिली हो कि, धार्मिक हो कि, धार्मिक पर्यटकीय हो कि, तीर्थाटन हो ? कहीँ हे¥यो फेमिली भिजिटजस्तो देखिन्छ । यस्तो कमजोर प्रस्तुती नेपालको हुनुहुँदैन ।’, ओलीले भने ।