काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका छन्। बुधबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।
मन्त्री ज्वालाले समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै, समाजवादी प्रेस संगठनले अन्य संगठन भन्दा छुट्टै पहिचान बनाएर अगाडि बढ्नुपर्ने बताए।
उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै समाजवादी प्रेस संगठनका नवनिर्वाचित अध्यक्ष विश्वमणि सुबेदीले समाजवादी प्रेस संगठन सधैभरि श्रमजीवी पत्रकारको हकहित र अधिकारको पक्षमा रहेको र यसका लागि सरकारको समेत आवश्यक सहयोग रहनु पर्ने बताए ।

बधाई कार्यक्रममा समाजवादी प्रेस संगठनका नवनिर्वाचित अध्यक्ष बिश्वमणी सुबेदी, संगठनका उपाध्यक्षहरु, उपमहासचिवहरु, सचिव तथा देशका विभिन्न स्थानबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो।
यही जेठ २६ र २७ गते काठमाडौंमा सम्पन्न समाजवादी प्रेस संगठनको प्रथम अधिबेशनबाट सुबेदिको अध्यक्षतामा अन्य पदाधिकारी निर्वाचित भएका थिए।