November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

चार पार्टी मिलेर समाजवादी मोर्चा बनाउँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपाल मिलेर समाजवादी मोर्चा घोषणा गर्ने तयारी भएको छ । जसमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई बाहिरै छन् ।

“मोर्चामा पूर्वप्रधानमन्त्री भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई भने बाहिरै रहने लगभग पक्का भएको छ । मोर्चामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पनि सामेल गराउने प्रयास पनि भइरहेको छ ।” माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले मोर्चा घोषणाको तयारी भइरहेको सन्दर्भमा बताए ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा भने समाजवादी मोर्चा घोषणा शुक्रबार नै हुने दाबी गरेका छन् ।

Advertisement

जसपाका नेता राजकिशोर यादवले पनि मोर्चा घोषणाको तयारी भइरहेको बताए । “छलफल भइरहेको छ । तयारी पनि भएको छ । सम्भव भएसम्म छिट्टै समाजवादी मोर्चा घोषणा हुन्छ, ।” उनले भने ।

श्र्रोतका अनुसार नेकपाका महासचिव विप्लव पनि समाजवादी मोर्चामा सामेल हुन सहमत भएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँगको छलफल पछि विप्लव समाजवादी मोर्चामा आउन सहमत भएको महरानिकट स्रोतको दाबी छ ।

चार पार्टी मिलेर बन्ने समाजवादी मोर्चा तेस्रो निर्णायक शक्ति बन्नेछ । मोर्चामा सामेल हुने माओवादी केन्द्रसँग ३२, जसपाको १२ र नेकपा एसको १० सिट छ । प्रचण्डले समाजवादी मोर्चामा नेसपा अध्यक्ष भट्टराई र एमाले छाडेर नेकपा एकता अभियान चलाइरहेका वामदेव गौतम पनि सामेल हुने बताएका थिए । तर, तत्काल घोषणा हुने मोर्चामा बाबुराम नेतृत्वको नेसपा र वामदेव भने सहभागी हुने टुंगो लागेको छैन ।