काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले युवाहरू परिवर्तनका वाहक भएको बताए। शनिबार
रौतहट काठमाण्डौ सम्पर्क मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले युवाहरूको काँधमा देशको भलाई र परिवर्तन गर्ने शक्ति भएको बताएका हुन् ।
उनले युवाहरूले नै परवर्तन र देशको भविष्य सार्थक बनाउने भन्दै संस्कार संस्कृतिले भरिपूर्ण युवाहरूले देशमा विद्यमान विकृति विसंगतिका साथै प्रणाली र कानुनमा भएका विकृतिहरू हटाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले कम्युनिष्ट पार्टीका हरेक कार्यकर्ताहरूले उद्यमशीलतालाई अङ्गालेर उत्पादनमा लाग्नुपर्नेमा जोड दिँदै सम्पर्क मञ्चहरूले भूगोल र केन्द्रको सम्पर्क सूत्रको काम गर्नुपर्नेमा जोड दिए ।
रौतहट काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष रामानन्द चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य कल्याणी खड्का,पार्टीका पोलिटब्युरो सदस्य रामकुमार भट्टराई लगायत नेताहरूले शुभकामना राखेका थिए । अध्यक्ष नेपालले सम्पर्क मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई टिका र खादा लगाएर सम्मान गरेका थिए ।