November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्रीको व्यस्तता यति छ कि, उद्घाटन, सम्मेलन आदिमा बित्या छ: सांसद पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालय विघटन गर्दा पनि हुने बताए । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसद पाण्डेले प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त रहेको टिप्पणी गरेका हुन् ।

संसदमा भएको ‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’ का लागि एक जना सांसदले गरेको प्रश्नको जवाफ समेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय आवश्यक नभएको पाण्डेले बताएका हुन् ।

सांसद पाण्डेले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय अस्तव्यस्त छ । अस्तव्यस्त छ भन्ने खालको कुरा आज सम्माननीय प्रधानमन्त्रीले उत्तर दिँदै गर्दा एक जना माननीयले सोधेको प्रश्नको उत्तर पनि आएको रहेनछ । यो त ३ दिन अगाडि प्रश्न गरेको हो नि । उहाँको सचिवालयले तयार गरिदिनु पर्थ्यो कि पर्दैन थियो ? विघटन गरिदिए हुन्छ त्यस्ता सचिवालय ।’

Advertisement

‘अहिले मन्त्रीहरूले मन नपराएका सचिव जति त्यहाँ कवाडीखाना जस्तो थन्क्याउने स्थिति रहेछ । हरेक फ्रस्टेड सचिवहरू त्यहाँ जम्मा हुने भएपछि तिनीहरुले काम गर्छन् ? यतातिर प्रधानमन्त्रीको ध्यान जान जरूरी छ ।’, उनले थपे ।

यस्तै, उनले महान्यायाधिवक्ताले औल्याएका धेरै कमजोरीहरूमा ध्यान नपुगेको पनि बताए । ‘ उनले भने, ‘हामीले संविधान, कानून मिचेर गरिएका सारा कामहरूको सरकरको तर्फबाट छनविन आदि कुरामा ध्यान पुगिरहेको छैन । सम्माननीय प्रधानमन्त्री ज्यूको व्यस्तता यति छ कि, उद्घाटन, सम्मेलन, डेलिगेशन राजनीतिक भेटघाट आदिमा बित्या छ ।’

सांसद पाण्डेले प्रधानमन्त्री दाहालले आफूमा शक्ति केन्द्रित हुने गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अन्तरगत निकायहरुलाई कायमै राखेकोमा पनि आपत्ति जनाएका छ्न्।

उनले १६५ निर्वाचन क्षेत्रलाई बिर्सेर बजेट बनाइएको भन्दै बजेट नसच्याए यथास्थितिमा बजेट पारित नहुने पनि चेतावनी दिए ।