November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनेको भन्नुभएको छैन –उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध हुँदै राजिनामासम्म माग आइरहेको बेला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दाहालले भारतको सहयोगमा प्रधानमन्त्री बनेको अभिव्यक्ति नदिएको दाबी गरेका छन् ।

बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसबारेमा प्रधानमन्त्रीसँग आफ्नो कुरा नभएको तर उनले भारतको सहयोगमा प्रधानमन्त्री भएको भन्ने अभिव्यक्ति नदिएको उनले बताए ।

‘हाम्रो प्रधानमन्त्रीले मैले नेपालको प्रधानमन्त्री हुन विदेशमा मान्छे पठाएको थिएँ, त्यसको सहयोगबाट म प्रधानमन्त्री भएको हुँ भनेर कहीँ भन्नुभएको छैन,’ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने ।

Advertisement

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बाँकी विषय भने प्रधानमन्त्री आफैले स्पष्ट पार्ने बताए ।

असार १८ गते सरदार प्रितम सिंहको जीवनी विमोचन कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रितम सिंह नेपालको राजनीतिमा अत्यन्त चासो राख्ने र आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएर छलफल गरेको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीबाट राजीनामा माग गरेका छन् ।