November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

थवाङ विचार र क्रान्तिको प्रतीक: प्रधानमन्त्री

२०८० कार्तिक २४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् । शुक्रबार रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले थवाङमा रहेर जनयुद्धको तयारी, उठान र सञ्चालन गरिएको पनि बताए । 

थवाङलाई देशले मात्रै नचिन्ने तर सिंग‍ो विश्वले चिन्ने बताउदै प्रधानमन्त्री प्रचण्डले भने, थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु । थवाङलाई देशले मात्रै चिन्दैन, सिंग‍ो विश्वले चिन्छ। यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ।’

क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहुने पनि प्रधानमन्त्री दाहालले बताए । उनले भने, ‘ क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुदैन । त्यो बांगोटिंगो हुन्छ। यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ। यो विज्ञानको नियम ह‍ो। जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं। संविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ ।’

Advertisement

उनले पार्टीको आगामी विशेष महाधिवेशनबाट पार्टीको समाजवादको बाटो थप स्पष्ट हुने बताए ।शान्तिप्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं। अहिले क्रमशः एकताको आधार तयार हुँदैछ। विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकतावद्ध हुन्छौं,’ उनले भने ।

प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था क्रमश सुधारको बाटोमा रहेको बताए । उनले भने, ‘उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ। अहिले ७ अर्ब छुट्याइएको छ। छिट्टै थप ७ अर्ब थपेर सिधै किसानको हातमा पैसा जाने गरी उत्पादन र रोजगारीलाई प्रवर्धन गर्छौं । म सरकारमा आउँदा देश श्रीलंका बनिहाल्छ कि भन्ने थियो। अहिले त्यो अवस्था छैन। अर्थतन्त्रमा राम्रो सुधार आएको छ।’