November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

राष्ट्रियसभाको निर्वाचन माघ ११ मा हुने

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने भएको छ । बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन दुई महिनापछि गर्ने निर्णय गरेको हो ।

सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको हो ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना)को पदावधि सकिँदैछ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

Advertisement

यस्तै बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । सो कार्यका लागि जिल्लामा जनशक्ति अपुग भएमा बाहिरबाट जनजनशक्ति उपलब्ध गराउने निर्णय पनि भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार भूकम्प पीडितको अस्थायी आवास निर्माण भएको गुनासो आएकाले प्रभावितलाई सुरक्षित अस्थायी आवास उपलब्ध गराउन जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा सुरक्षाकर्मी परिचालन गरिनेछ । नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई नियुक्ति गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।