काठमाडौं– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति सदस्यको रुपमा पहिलो पटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका हुन्।
देशमा भ्रष्टाचार समाप्त पार्ने गरी कुनै प्रभावकारी कदम नदेखिएको उनको भनाइ छ। ‘सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरेपनि घोषणा अनुसारको व्यवहारमा देखिएको छैन। भ्रष्टाचार अन्त्यको निम्ति विभिन्न कानुन, नियमावली बनेको भएपनि लागू हुन सकेका छैनन्। भ्रष्टाचार व्याप्त छ,’ गौतमले भने।
गौतमले प्रकृतिमा रहेका सबै प्राणीको अन्तर्निहित सम्बन्ध नबिगारी विकास गर्नुपर्ने धारणा राखे। त्यसो नगरिए वातावरणमा प्रतिकुल असर परी मानिसको आयु घट्दै जाने उनको भनाइ छ।
राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभाको मानमर्यादा र काम कारबाहीमा विभेद भएको भन्दै विभेद अन्त्यको निम्ति आफ्नो योगदान रहने बताए।
एक सदनलाई बढी अधिकार र अर्को सदनलाई कम अधिकार दिने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ।