काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले भागबन्डा टुंगाएको हो ।
कुल १९ सिटमध्ये कांग्रेसले १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट भाग पाएको छ ।
जसअनुसार कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ । यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ ।
यस्तै माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ ।
यस्तै एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिट पाएको छ । यस्तै जसपाले एक सिटमा मधेसबाट उम्मेदवार खडा गर्नेछ । गठबन्धनमा जनमोर्चा र जनमत पार्टीले समेत सिट दाबी गरेपनि उनीहरुलाई छुट्याइएको छैन ।
नेताहरुका अनुसार उम्मेदवारको क्लस्टरबारे पनि दलहरुबीच करिब करिब सहमति जुटिसकेको छ ।