November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने

२०८० फाल्गुन १५

काठमाडौं । भजन शिरोमणी वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ । आचार्यको सम्मानमा संगीतकर्मीहरूले उनको गीत गाउने तयारी छ ।

अन्तिम श्रद्धान्जलिका लागि प्रज्ञा प्रतिष्ठानमा राखेपछि दिउँसो १ बजे अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ । उनको आजै हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिनेछ ।

स्वरसम्राट नारायण गोपालका समकालीन गायक आचार्यको ८२ वर्षको उमेरमा सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि बिमारी रहेका थिए । उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । 

Advertisement

आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।

भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो । उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि जिब्रो काटियो । त्यसपछि उनले गाउन सकेनन् । उनका दुई छोरा सत्यराज र स्वरुप पनि गायक छन् ।

आचार्यको जीवनीमा आधारित भएर चलचित्र ‘आचार्य’ बनिसकेको छ । फिल्ममा गायकको जिन्दगीका आरोह अवरोह, सफलता र दुःखहरु समेटिएको छ ।