काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिएको छ । बाँसबारीको छाला जुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा बिहीबार बिहान ७ बजेदेखि सुरु भएको बयान जारी छ ।
यसअघि बुधबार सिआइबीले चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेको थियो । पत्रमा उल्लेख थियो, ‘काठमाडौं महानगरपालिका ३ नं. वडाको कार्यालय र नवराज शर्मा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजित नारायण सिंह थापा समेत भएको बाँसबारी छाला जुत्ता कारखाना लि. को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैह कानूनी तवरबाट च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्युरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’
काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सिआइबीले छानबिन गरिरहेको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको भन्दै सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । सोही प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि पनि छानबिन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए ।
गृहमन्त्रीको निर्देशन सांसद चौधरीले चैत ५ गत (सोमबार) बाँसबारी जग्गाबारे संसदमा सरकारले गरेको लिलामीमार्फत् आफूहरूले जग्गा लिएको दाबी गरेका थिए ।