विराटनगर । मोरङमा लागुऔषध ओसारपसारमा संलग्न एकजनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । मोरङको रतुवामाई नगरपालिका-६ बाट लागुऔषध ओसारपसारमा संलग्न रहेका एक भारतीय नागरीकलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार लागुऔषध खैरो हेरोईन ओसारपसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा उनलाई इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौं र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतीय नागरीक ३४ बर्षीय भगिरथ हरिजन रहेका छन् । उनलाई आज दिउँसो ३ बजे मोरङको रतुवामाई नगरपालिका-६ कादुपाडाबाट नियन्त्रणमा लिएको हो ।
मोटरसाईकल चालक हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै आक्रमण गर्दा १ जना प्रहरी कर्मचारी समेत सामान्य घाईते भएकोले प्रहरीले प्रतिकार स्वरुप २ राउण्ड गोली तिघ्रामा प्रहार गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनको साथबाट प्रहरीले १४९ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।
प्रहरीको गोली लागेर घाइते भएका हरिजनको प्रहरीको निग्रानीमा मदन भण्डारी अस्पताल मंगलबारेमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।