काठमाडौं । आसन्न नेपाल पत्रकार महासंघको महाधिवेशन तोकिएको मितिमा गर्न र सदस्यता विवरणमा देखिएका विवादलाई हल गर्न तीन पत्रकार संगठनले माग गरेका छन् ।
समाजवादी प्रेस संगठन नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल र प्रेस मञ्च नेपालले मंगलबार जारी गरेको साझा प्रतिबद्धतामा उक्त माग गरिएको छ ।
समाजवादी प्रेस संगठनका अध्यक्ष बिश्ववमणि सुवेदी ,प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पाेखरेल र प्रेस मञ्च नेपालका महासचिव अवधेश झा ले संयुक्त रुपमा साझा प्रतिबद्धता जाहेर गरेका हुन् ।
उनीहरुले महासंघको विद्यमान संरचनालाई यथेष्ट समावेशी तथा पहिचानमुखी बनाउन आग्रह गर्दै त्यसका लागि प्रतिबद्ध पक्ष, समूह वा संगठनसँग सहकार्य गर्ने बताएका छन् ।
त्यस्तै सदस्यता शुद्धिकरणको नाममा पत्रकारलाई सदस्य बन्नबाट वञ्चित गरिएको, तोकिएको मापदण्डको उल्लंघन गरिएको र केही पत्रकार तथा संगठनसँग प्रतिशोध साँधिएकोमा आपत्ति जनाउँदै ती कार्य रोक्न माग गरिएको छ । भनिएको छ, ‘ती विषय हल नहुँदासम्म महासंघको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा भइरहेको तालाबन्दी जारी राखिनेछ ।’