November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

इडिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

काठमाडौं । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ घर भई हाल महालक्ष्मी–४ इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका–१० घर भई हाल महालक्ष्मी–५ टिकाथली बस्ने २८ वर्षीय अनिलकुमार महतो, झापा अर्जुनधारा नगरपालिका–८ घर भई हाल ललितपुरको इमाडोल बस्ने ५० वर्षीय गोपालप्रसाद घिमिरे र सङ्खुवासभा खाँदवारी नगरपालिका–९ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका–५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन् ।

उनीहरुलाई नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार नेपालस्थित अमेरिकन दूतावासमा इडिभी प्रयोजनका लागि एसइई र १०ं२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाइ पेस गरेको भन्ने सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा निजहरुलाई पक्राउ गरिएको हो ।

Advertisement

अमेरिकन राजदूतवास नजिकबाट पक्राउ परेका निजहरुलाई लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको प्रहरीले जनाएको छ ।