विराटनगर । मुक्कुमलुङ संरक्षणका योद्धाहरूमाथि शसस्त्र र प्रहरीले गोलि चलाएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), प्रदेश १ समितिले भर्त्ना गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै फोनिजले यसरी गोली चलाउनुले यो सरकार क्रूर बन्दै गइरहेको ठह¥याएको छ ।
अध्यक्ष विजयवोध लावतीद्वारा जारी विज्ञप्तिम भनिएको छ, ‘सरकारले मुकुमलुङ संरक्षण अभियान्ताहरू प्रति दमनकारी चरित्र देखाएर सरकार झन् क्रुर भएको हामीले महसुस गरेका छौं ।’
अध्यक्ष लावतीले यसविरुद्ध एकजुट हुन सबै पत्रकारलाई आह्वानसमेत गरेका छन् । ‘जनतामाथि गोली हानी दमन गर्ने सरकारको बिरुद्धमा सबै पत्रकार एकजुट भएर प्रतिरोध गर्न आवहान पनि गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्ने स्थानीय युवा र प्रहरीबीच झडप भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर चार जना प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ ।
प्रहरीले चलाएको गोली लागेर यामबहादुर लिम्बू र सगुन लावती गम्भीर घाइते छन् भने झडपकै क्रममा भिरबाट लडेका धर्मान पालुङ्वाको अवस्था पनि गम्भीर छ ।
अस्पताल स्रोतका अनुसार सगुन लावतीको छातीमा गोली लागेको छ । यामबहादुरको तिघ्रामा गोली लागेको छ भने पालुङ्वाको कुम (व्युटीबोन) भाँच्चिएको छ ।
जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै विराटनगरको नोबेल मेडिकल कलेजमा ल्याइएको थियो ।
यस्तो हर्कतले राज्यले मानवअधिकारको उल्लङ्घन गरेको फोनिजको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘मुन्धुमी, सांस्कृतिक एवं आध्यात्मिक स्थलको संरक्षण गर्न छोडेर अझ सरकार आफै कानुनी राज्यको धज्जी उडाउदै मानव अधिकारको उलङ्घनमा अग्रसर भएकोले त्यस्ता कार्य तत्काल बन्द गर्नुपर्छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) प्रदेस नम्बर १ बाट मुकुमलुङ संरक्षण अभियान्ता र सरकार पक्ष वार्ता संबाद) गरी मुकुमलुङको अस्तित्व कायमै राख्न माग गर्दछौ। साथै घाइतेहरुको उपचार सरकारबाटै गर्न समेत माग गर्दछौं ।’
