November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

दुर्गा प्रसाईँलाई प्रधानमन्त्री कार्कीको उपहार बुद्धको चित्र

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईँलाई गौतम बुद्धको चित्र उपहार दिएकी छन् । आज बिहान बालुवाटारमा भएको भेटमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँलाई प्रधानमन्त्री कार्कीले शान्तीको प्रतीक बुद्धको चित्र उपहार दिएकी हुन् ।

भेटमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरु शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गरिन् ।

Advertisement

मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै उनले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारेकी थिइन् ।

‘हामी पनि न्यायका पक्षधर हौँ । यहाँ सत्ताभोग र सुखसयल गर्न आएका होइनौँ । भ्रष्टाचारको अन्त्य, शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ । सबै कुराको नतिजा रातारात नदेखिए पनि हामीले आधारशीला तयार पार्दै गएका छौँ । तपाईँले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ । अझै थप छलफल गर्दै जाऔँला,’ प्रधानमन्त्री कार्कीले भनिन् ।