जुनू राना
झ्याम्पल, कुन्जा र गैती बोकेर
कलिलो घाँमले खोलालाई स्पर्श नगर्दै
खोलामा पुग्नुहुन्थ्यो बा
हर बिहान खोला मै बित्थ्यो बाको समय
तेसरी बन्यो
एक दिन हाम्रो घर
हाम्रो भरोषा
त्यस दौरान
कति निराकार ढुङ्गाहरूले आकार पाए
त्यो पैंयू खोलालाई थाह छ
त्यो खोलाको संगीत
शीतले रुझेका ढुङ्गाको सुक्ष्म आभाष
बिहानीको चीसा चट्टान
ती सबै कुरासँग साक्षात्कार हुदै गर्दा
बालाई लागेको हुनु पर्छ
सङ्घर्षको अनेकन श्रृङ्खला
फेरिदै जानेछन बिस्तारै
जसरी की ओभाउदै जान्छ शीत
घामको स्पर्शले
जग्गा सम्याउनु
ढुङ्गा बोक्नु
ढुङ्गा बोक्ने डोको आफैँ बुन्नु
घरलाई चाहिने हरेक साना तिना चीज बटुल्नु
फाटिसकेका डोकोहरू टालटुल गर्नु
समग्रमा श्रम र पसिनाको दलिन उभ्याउनु
जÞिन्दगी उभ्याउनु रहेछ
कालान्तरमा
दुखको नाम्लो बोकेर
फेरि तर्नु भो बा समुन्द्र
विराट सङ्घर्षको अर्को अध्यायमा
ठिङ्ग उभिनु भो बाह्रौं घण्टा
फलाम बोक्नु भो
कङ्क्रिट मुछ्नु भो
आफैँलाई बाधेर सेफ्टी बेल्टले
झुन्डिनु भो स्काफोल्डिङ संरचनाहरूमा
यसरी धान्दै जाँदा जिन्दगी
सायद थाके बा’का काँधहरु
थाके होलान पाइतालाहरू
तब बाले
बिसाउनु भो जिन्दगीलाई
जन्मभूमिको छातीमा
सदा सदाको लागि
र आज बा
कालीगण्डकीको शालिग्राम बन्नु भएको छ ।