November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

‘श्री ५ को सरकार’ भनेकोमा खानेपानीमन्त्री थापाले माफी मागे

काठमाडौं: मन्तव्यका क्रममा ‘श्री ५ को सरकार’ भनेकामा खानेपानीमन्त्री मणिचन्द्र थापाले माफी मागेका छन् । भूलवश यो शब्द प्रयोग हुन गएको भन्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री थापाले माफी मागेका हुन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको ओली पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले ‘श्री ५ को सरकारको तर्फबाट…’ भनेका थिए । मन्त्री थापाले नेपाल सरकार भन्नु पर्नेमा अन्यथा भएको भन्दै माफी मागेका छन् ।

‘जो यहाँ आशिन हुनुहुन्छ, सुर्खेतका आदरणीय जनसमुदायहरू म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा…’ भनेका थिए । लगत्तै कार्यक्रम सञ्चालकले गल्ती बोलेको संकेत गरेपछि उनले ‘ए, सरी नेपाल सरकारको तर्फबाट म तपाईंहरूलाई स्वागत गर्न चाहान्छु’ भनेका थिए।

Advertisement

मन्त्री थापाको यो भनाइको चौतर्फी आलोचना भइरहेको छ। गणतान्त्रिक सरकारका मन्त्रीले यस्तो अभिव्यक्ति दिएको भन्दै उनको चर्को आलोचना भइरहेको छ । ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भूलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरू जानकार नै हुनुहुन्छ’, मन्त्री थापाले फेसबुकमा लेखे, ‘आमनेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु।’