November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

ओलीले २३ गते हिन्दु राष्ट्र घोषणा गर्न सक्ने सुरेन्द्र पाण्डेको दाबी

काठमाडौँ – नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई हिन्दु राज्य बनाउन खाजेको आरोप लगाएका छन् ।

आइतबार माइतीघर मण्डलामा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको धर्नालाई सम्बोधन गर्दै नेता पाण्डले सो बताएका हुन् ।

केही दिन पहिले पशुपतिनाथको पूजा गर्न गएको र शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गरेको भन्दै उनले प्रधानमन्त्री ओलीले माघ २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्ने समेत दाबी गरेका छन् ।

Advertisement

‘यही २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन भन्ने चर्चा चल्दैछ । ओलीले यो गर्न सक्छन्,’ उनले भने, ‘अब ओली कम्युनिस्ट आन्दोलन अगाडि बढाउन होइन, नयाँ मठाधीश बनेर धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्टा गरिरहेका छन् ।’

प्रतिनिधिसभा विघटन भएपछि विभाजित नेकपाको ओली समूहले २३ माघमा काठमाडौँमा वृहत आमसभाको तयारी गर्दै गर्दा पाण्डेले यस्तो बताएका हुन् ।

ओलीको कदमले दक्षिणपन्थी खुशी भएको र २३ गतेको आमसभामा राजावादीहरू सहभागी उनको दाबी छ ।