काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेलकूद क्षेत्रको विकासमा सरकारको सहयोगी भूमिका रहने बताउनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आज आयोजना गरेको ‘खेलकूदसँग प्रधानमन्त्री’ कार्यक्रममा उहाँले सरकारले खेलकूद क्षेत्रलाई चलायमान बनाउन योजनाबद्ध ढङ्गले काम गरिरहेको बताउनुभयो ।
यस वर्ष कोरोना भाइरसको महामारीका कारण खेलकूदमा अरु वर्षभन्दा न्यून बजेट उपलब्ध गराइएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले आगामी वर्ष आवश्यक बजेट उपलब्ध गराइने आश्वासन दिनुभयो । नेपालले गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा उल्लेख्य उपलब्धि हासिल गरेकामा खुशी व्यक्त गर्दैै आगामी प्रतियोगितामा पनि नेपाली खेलाडीले देशको गौरव बढाउँदै जाने विश्वास व्यक्त गर्नुभयो ।