काठमाडौं । विभिन्न व्यक्तिहरूबाट ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने भारत कोडामबाक्कम चेन्नाई तामिलनाँडु घर भएका ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शिवमले आफू मेडिकल व्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरहरुसँग कुराकानी भई सम्झौता गर्नका लागि एग्रिमेन्टको ड्राफ्ट समेत तयार भईरहेको भनि झुट्टा कागजात र कुराकानी तयार गरि विभिन्न व्यक्तिहरूलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई ठगी गर्ने गरेको पाइएको छ ।

त्यस्तै, विभिन्न व्यक्तिहरूको स्वामित्वको जमीनको लालपूर्जा समेत आफ्नो नियन्त्रणमा लिई ठगी गर्ने, विभिन्न बैंक तथा वित्तिय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक शेयर रहेको भनि झुट्टा कागजात तथा विवरण देखाई ठगी गर्ने, आफूलाई International Committee Of The Red Cross(ICRC) को डाईरेक्टर हुँ भनि नक्कली परिचयपत्र देखाई नेपाल सरकारका उच्च अधिकारीसँग समेत निकट सम्बन्ध कायम रहेको देखाउने, विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र आफ्नो साथमा राखी सो नागरिकता मार्फत बैंक खाता संचालन गरी ठगीमार्फत आएको रकम जम्मा लगायत भुक्तानी लिने गरेका थिए ।

उनलाई महानगरिय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बालुवाटारबाट उनलाई पक्राउ गरेको हो ।
उनले विभिन्न बर–बहाना अनुसार नै विभिन्न व्यक्तिबाट पटकपटक गरी उक्त रकम बराबरको ठगी गरेको तथा अन्य व्यक्तिहरुसँग समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
साथै प्रहरीका अनुसार शिवम विरुमुथु चेटियार २०७२ जेठ २२ गते पक्राउ परी बैदेशिक रोजगारी सम्बन्धी कसूरमा डिल्ली बजारमा २ वर्ष कैद तथा ३ लाख ५० हजार रुपैयाँ रकममा रिहा भएको अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको महानगरिय अपराध महाशाखाले जनाएको छ ।