November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

नेपालगञ्जमा बम विष्फोट हुँदा दुई जना घाइते

काठमाडौं । बाँकेको नेपालगञ्जमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । भृकुटीनगरस्थित दिवाकर र श्रीकला मल्लको घर डेरा गरी बस्ने विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले लुकाएर राखेको बम विष्फोट भएको हो ।

बुधबार बेलुकी बम विष्फोट हुँदा डेरा गरी बस्ने सल्यानको बागचौर नगरपालिका–२ घर भएका २७ वर्षीय डिल्लीबहादुर डीसी र उनका साथी कैलालीको घोडाघोडी नगरपालिका–१ घर भएका ३३ वर्षीय धर्मबहादुर सुनार घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भीर छ । उनीहरुको उपचार नेपालगञ्ज नर्सिङहोमको आईसीयूमा राखेर भइरहेको छ ।

बेलुका माथिल्लो तलामा खाना पकाइरहेको बेला विष्फोटको ठूलो आवाज सुनियो । ‘घर त थररर ग¥यो । ग्याँस सिलिण्डर पड्कियो होला भन्ने ठानें । म दगुर्दै तल्लो तलामा ओर्लिएँ । तल त धुवैँधुवाँ थियो । मान्छेहरु रगताम्मे थिए,’ श्रीकलाले घटनाबारे भनिन् ।

Advertisement

‘त्यतिबेलासम्म पनि मैले ग्यास सिलिण्डर नै पड्किएर घाइते भएछन् भन्ने ठानें । ए अस्पताल लगिदेऊ, रिक्सा बोलाइदेऊ न भन्दै अरु मान्छेहरुलाई भन्न थालें । दुई जना त बाइक चढेर पो भागे ।’

प्रहरीका अनुसार प्रेसर कुकर बम विष्फोट भएको हो । चुनाव बहिस्कार अभियानमा लागेका विप्लपका कार्यकर्ताहरुले नेपालगञ्जका चोकहरुमा बम राख्ने तयारी गरेको र आठ–दश वटा एकैचोटी नेपालगञ्जमा पड्काउने यिनीहरुको तयारी रहेको प्रहरीले जनाएको छ । उक्त सूचना पाएपछि प्रहरीले खोज्दै गएपछि लुकाउन र भाग्न खोज्दाखोज्दै तयारी नपुगेको कारणले चाँडै पढ्केको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती बम हानिकारक खालको भएको कारण उनीहरुलाई चोट लागेको हो । कुनै सडकमा चोकमा पड्केको भए त्योभन्दा आपत्ती ठूलो केही नहुने प्रहरीको भनाइ छ ।

घटनास्थलमा नपड्किएको अवस्थाका दुईवटा बम फेला परेको र ती बम राति नै नेपाली सेनाले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका बाँकेले जनाएको छ ।