काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाइने भन्दै करोडौं रुपैयाँ असुलउपर गर्दै आएको गिरोहका मुख्य योजनाकार इन्द्रजित राई पक्राउ परेका छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार राईलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।
उक्त गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बयानमा राईले भुटानी शरणार्थी समस्या समाधानमा स्थायी तवरको उपाय पहिल्याइने भन्दै गृहमन्त्रालयबाट नीतिगत असंगत निर्णयहरू गराएको र नक्कली शरणार्थी बन्न जनही बढीमा ५० लाखसम्म पैसा असुल्न मार्गप्रसस्त गरिदिएको खुलेको छ ।
तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गिरोहलाई आफूले समेत मन्त्रालय तहमा विभिन्न कठिनाइ आइपर्दा सहयोग गरेको र गिरोहका नाइके दुलाल र भण्डारीसँग आफ्नो पुरानो चिनजान रहेको भन्दै स्विकारिसकेको जनाइएको छ । पक्राउ परेकामध्ये दुलाल तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक थिए भने भण्डारी ऊर्जामन्त्री रायमाझीकै सहयोगी थिए ।
रकम संकलनका मध्यस्थकर्ताका रुपमा तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतिक र इन्द्रजीतका छोरा निरजको नामसमेत आइसकेको छ ।