काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवासबाट बरामद भएको चिट आफैले लेखेको बताएका छन् । जिल्ला अदालत, काठमाडौंमा बयान दिँदै उक्त चिट आफैले लेखेको स्वीकार गरेका हुन् ।
उनले हतास मनस्थितिमा रहेको बेलामा उक्त नोटबुकमा बैयक्तिक भावना लेखेको बताएका हुन् । ‘मलाई पक्राउपूर्जी जारी हुँदैछ भन्ने जानकारी पाएपछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनका लागि नोटबुकमा लेखेको थिएँ । उक्त राति म बस्न घर बाहिर गएँ, बाहिर जाने क्रममा ट्याक्सीमा उक्त नोटबुक छुट्न गएको रहेछ ।’, उनले भने ।
पाण्डेले उक्त नोट प्रहरी हिरासतमा रहेका बेला लेखेर निजी सचिव नरेन्द्र केसीमार्फत पूर्वमन्त्री बालकृष्ण खाँणलाई पठाएका थिए । आफूलाई आकस्मिक रुपमा पक्राउ गर्न आएको प्रहरीलाई छल्ने क्रममा खाणले उक्त नोट (कागजको चिट) च्यातेर फालेका थिए ।
उक्त नोटमा ‘केशव दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुपर्यो । नभए मन्त्रीज्यू समेतको मुद्दा जानसक्छ’ भनिएको थियो ।