काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका १८ जनालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । बालकृष्ण खाण‚ टोपबहादुर रायमाझीलगायत १८ आरोपीलाई मुद्दाको थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएको हो ।
यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको थियो । थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ ।
शुक्रबार अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिएको थियो । बाँकीसँगको बयान यसअघि नै सकिएको थियो ।
थुनछेक बहस सकिएपछि आरोपितलाई साधारण तारेखमा वा धरौटीमा छोड्ने वा पूर्पक्षका क्रममा कारागार पठाउने टुंगो लाग्छ ।