November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

सय केजी सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक सय केजी सुन बरामद गरेको प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिक रहेका छन् ।

ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको हो । यस्तै, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक पनि पक्राउ परेका छन् । अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् ।

राजस्व अनुसन्धान विभागले बुधबार झण्डै एक सय किलो सुन बरामद गरेका थियो । विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

Advertisement

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुईजना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक शु’ को आवरणमा सुन ल्याइएको उक्त सुन ८० देखि १०० किलोग्राम भएको अनुमान गरिएको छ । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । तथ्य खुल्न बाँकी नै रहेको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।