काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबार एक सूचना जारी गर्दै त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले कोरोना संक्रमण बढेकाले हरेक क्याम्पसले अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो ।
यसका लागि आज अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्ने सूचनामा उल्लेख छ । अनलाइन कक्ष व्यवस्थित गर्न हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।
साथै, भौतिक उपस्थितिमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्र्टनसिपलगायत क्रियाकलाप स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गर्न सकिने सूचनामा उल्लेख छ । अनलाइन कक्षा व्यवस्थित भए नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति बन्ने पनि त्रिविले जनाएको छ ।