काठमाडौं : सरकारले भोलि (शुक्रबार)देखि देशभर नयाँ भर्ना अभियान थाल्ने भएको छ। नयाँ भर्ना अभियान थाल्न स्थानीय तह र सबै विद्यालयलाई निर्देशन दिइसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ।
विकास केन्द्रका प्रवक्ता डिल्ली लुइँटेलका अनुसार भोलिदेखि वैशाख ३१ गतेसम्म सामुदायिक तथा निजी विद्यालयहरूले नयाँ भर्ना लिनेछन्। यसका लागि गत चैत्र २१ गते नै सूचना जारी गरेर स्थानीय तह र विद्यालयलाई जानकारी गराएको उनले बताए।
‘भोलिदेखि कक्षा १ को नयाँ भर्ना शुरु हुन्छ,अरू कक्षाको धमाधम परीक्षा भइरहेको छ। परीक्षा सकिएपछि नतिजा प्रकाशित गर्छन्, त्यसलगत्तै भर्ना पनि विद्यालयले गर्छन्’‚ उनले भने।
यसरी हुनेछ भर्ना अभियान
नेपालमा कोभिड–१९ प्रवेश गर्नुअघि वैशाख १ गते नारा जुलुस नै गरी नयाँ भर्ना अभियान सञ्चालन थियो। कोभिड महामारी चलेपछि अघिल्ला भर्ना अभियान प्रभावित भयो। वैकल्पिक माध्यमबाट भर्ना कार्यक्रम गरिएको थियो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले पनि भाइबर, म्यासेन्जर, टेलिफोनबाट भर्ना लिएको थियो।
पछिल्लो समयमा भने परिस्थिति सहज बन्दै गएको छ। त्यसै कारण योपटकको नयाँ भर्ना अभियान स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा गरिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए।
सकेसम्म पहिला जस्तो नारा जुलुस भने नगरिने उनको भनाइ छ। विकास केन्द्रका अनुसार नयाँ भर्नाका लागि स्थानीय तहको शिक्षा शाखाका कुनै एक कर्मचारीलाई सम्पर्क व्यक्ति तोकिने छ।