November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबाट युवाशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्ने बताए । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशको ढुकुटीसमेत बाहिरिएको हुँदा छिटोभन्दा छिटो पलायनलाई रोक्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्र बाहिरिइरहेको छैन, देशको ढुकुटी पनि उनीहरुसँगै बाहिरिँदै गएको छ। त्यसैले पनि छिटोभन्दा छिटो यस पलायनलाई रोक्नका लागि शिक्षा नीतिलाई सकेसम्म युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई यहीँका विद्यालय, विश्वविद्यालयहरुमा अध्ययन गर्न प्रोत्साहन गर्ने मात्र नभई विदेशी विद्यार्थीलाई नेपालका विश्वविद्यालयहरुमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्न सकियो भने अहिले जस्तो देशको पैसा बाहिरिने नभई विदेशी मुद्रा नेपाल भित्रिने अवस्थाको सिर्जना हुनेछ ।’

यो कुरा तत्कालै पूरा गर्न संभव नहुने र दीर्घकालीन नीति बनाउनुपर्ने बताए । ‘यो कुरा आजको भोलि नै पूरा गर्न सम्भव छैन। तर, दीर्घकालीन रणनीतिसहित व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर यस दिशामा ठोस परिणाम हासिल हुन सम्भव हुनेछ’, उनले भने ।

Advertisement