November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित श्री तासिर इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका सामाजिक शिक्षाका शिक्षक ४५ वर्षीय अच्युत ओझालाई बालबालिकाविरुद्धको कसुर सम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जेठ ७ गते दिउँसो करिब १२ः४० बजे कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई शिक्षक ओझाले कक्षाकोठामै कुटपिट गरेको आरोप छ । घटनापछि पीडित बालकका अभिभावकले जेठ १६ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएका थिए ।

Advertisement

जाहेरी परेपछि सोही दिन साँझ करिब ६ः४५ बजे शिक्षक ओझालाई हेटौंडा–६ पुतलीबजारस्थित निवासबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएका विद्यार्थीको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । विद्यार्थीको टाउकोमा चोट लागेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।