काठमाडौं । वरिष्ठ अभिनेता नीर शाह र अभिनेत्री मिरुना मगरले उत्कृष्ट कलाकारको पुरस्कार प्राप्त गरेका छन् । शुक्रबार राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह–२०८३’ मा कलाकारद्धयलाई पुरस्कार प्रदान गरिएको हो ।
शाहले चलचित्र ‘परान’ र मिरुनाले ‘ऊनको स्वीटर’का लागि उक्त पुरस्कार प्राप्त गर्न सफल भएका हुन् ।
सोही क्रममा चलचित्र ‘ऊनको स्वीटर’ ले भने तीन विधामा आफ्नो बर्चस्व जमाउन सफल भएको छ । यसले उत्कृष्ट अभिनेत्री, उत्कृष्ट चलचित्र तथा उत्कृष्ट निर्देशकको पुरस्कार पाएको छ । नवीन चौहानले भने आफ्नो पहिलो निर्देशकीय चलचित्रबाट उक्त पुरस्कार हासिल गरेका हुन् ।
चलचित्र ‘परान’ बाट दीपकप्रसाद आर्चाय र यम थापाले उत्कृष्ट लेखक विधामा पुरस्कार जितेका छन् ।
उत्कृष्ट छायांकनको पुरस्कार कोशेढुंगाले पाउँदा उत्कृष्ट पुरस्कार पनि यसै चलचित्रबाट नहकुल खड्काले प्राप्त गरेका छन् ।
यस्तै, उत्कृष्ट आदिवासी चलचित्रको अवार्ड नेपाल भाषाको ‘इन्दिरा धिमे मैचा’ले जितेको छ । यसै समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ । ३ लाख ७५ हजार नगदसहित श्रेष्ठलाई सम्मान गरियो ।
साथै चलचित्र क्षेत्रका ११ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको छ ।
विशेष विधा अन्तर्गत ‘रमिताको पिरती’ का लागि आना शर्मा र ‘झरी पछिको इन्द्रेणी’ का लागि विमोचन दवाडीलाई जुरी प्रोत्साहन पुरस्कार प्राप्त गर्दा ज्योति राज राईको निर्माण रहेको लिम्बु भाषाको चलचित्र ‘नाक्छोङ’ले विशेष चलचित्र पुरस्कार प्राप्त गरेको छ ।
उक्त कार्यक्रममा पत्रकारिता क्षेत्रबाट अमूल्य योगदान पुर्याएका स्वर्गीय दिनेश सिटौलालाई नगद ५० हजार रुपैयाँसहित विशेष सम्मान अर्पण गरिएको छ ।