काठमाडौ – नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज (बुधबार) बाट पदभार ग्रहण गरेका छन् । आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप पाँच अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गरेका छन् ।
उनले पदभार ग्रहण गर्दै भने, ‘सरकार कोरोना महामारीमा जनताको जीवन रक्षामा केन्द्रित रहन्छ ।’ आज नै उनले स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताका लागि रकम स्वीकृति सदर समेत गरेका छन् । नयाँ मन्त्रिपरिषदको मंगलबार बेलुका बसेको पहिलो बैठकले चैत महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।
बुधबार बिहान अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले आफूले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् । कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झण्डा (पार्टीको) चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’
यो सबैको साझा प्रतिवद्धता हुनुपर्ने उनको भनाइ छ । आफू अर्थ मन्त्रालयमा आउनुको पछाडि सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिने लगायतका कारण रहेको उनले बताए ।