August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

म्यानमारमा जारी हिंसामा हालसम्म ८१८ को मृत्यु

काठमाडौं– सेनाले सत्ता नियन्त्रणमा लिएपछि जारी आन्दोलनका क्रममा म्यानमारमा हालसम्म ८१८ जनाको मृत्यु भएको छ। आइतबार थप तीनको  मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्। 

आइतबार दुई युवकलाई जुन्ता सरकारका सुरक्षाकर्मीले कयाह राज्यमा गोली हानेर मारेका हुन्। गाउँबाट खाद्य पदार्थ लिएर आइरहेका बेला उनीहरुको हत्या भएको जनाइएको छ। उनीहरुको शव पनि सैनिकले नै नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ।

सैनिक सरकारले अहिले चार हजार २९६ जनालाई गिरफ्तार गरेर थुनामा राखेको छ भने तीमध्ये ९५ जनालाई अदालतले नै थुन्ने आदेश दिएको छ । त्यसैगरी एक हजार ८२२ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ ।

Advertisement

आन्दोलनकारी र सुरक्षाकर्मीका बीचमा भएको झडपमा क्रममा अहिलेसम्म १३ सुरक्षाकर्मीको मृत्यु भएको छ। 

गत फेब्रअरी १ मा म्यानमारको सेनाले तत्कालिन सरकारका उच्च अधिकारीहरुलाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएपछि  शुरु भएको हिंसा अहिलेसम्म पनि जारी छ।

सैन्य सरकारले म्यान्मारकी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई पनि नियन्त्रणमा राखेको छ। उनीहरुलाई नियन्त्रणमा राखेपनि आम नागरिक र राजनीतिक दलहरुको तर्फबाट आन्दोलन भने निरन्तर भइरहेको छ ।