November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

कार दुर्घटनामा तमिल फिल्म निर्माता आरबी चौधरी र मलयालम अभिनेता नायरको निधन

दक्षिण भारतीय चलचित्र उद्योगका प्रख्यात निर्माता एवं तमिल स्टार जीवाका पिता आर.बी. चौधरीको उदयपुरनजिकै भएको कार दुर्घटनामा मृत्यु भएको छ। मंगलबार भएको उक्त सडक दुर्घटनामा उनको मृत्यु भएको हो ।

सोही दिन अर्को छुट्टै कार दुर्घटनामा मलयालम अभिनेता सन्तोष के. नायरको पनि ज्यान गएको छ। एकै दिन दुई फरक–फरक सडक दुर्घटनामा फिल्म क्षेत्रका दुई प्रभावशाली व्यक्तित्वको मृत्यु भएको हो ।

निर्माता चौधरीले सन् १९८८ देखि ‘सुपर गुड फिल्म्स’ ब्यानर अन्तर्गत फिल्महरू निर्माण गर्दै आएका थिए। उनको निर्माणमा बनेको पहिलो तमिल फिल्म ‘पुधु वसन्तम’ थियो, जसबाट निर्देशक विक्रमले डेब्यु गरेका थिए। यो फिल्मले तमिलनाडु स्टेट फिल्म अवार्डसमेत जितेको थियो।

Advertisement

उनले के.एस. रविकुमारको पहिलो फिल्म ‘पुरियादा पुधिर’ लाई पनि लगानी गरेर स्थापित हुन सघाएका थिए। उनले आफ्नो व्यावसायिक यात्रामा चेरन पाण्डियन, ऊर मरियाधई, गोकुलम, नट्टमई, सुन्दर पुरुषन, मिस्टर रोमियो, सूर्यवंशम, आनन्दम, कीर्ति चक्र, जिल्ला, गडफादर र हालै प्रदर्शनमा आएको ‘मारीसन’ जस्ता थुप्रै स्मरणीय फिल्महरू दर्शकमाझ ल्याएका थिए।

दुर्घटनामा परेका अन्य व्यक्तिहरूको अवस्था र उनीहरूलाई लागेको चोटपटकका बारेमा विवरण सार्वजनिक भइसकेको छैन। चौधरीको अन्तिम संस्कार छिट्टै चेन्नेईमा गरिने बताइएको छ। उनी आफ्ना पछाडि श्रीमती महजबीन तथा छोराहरू जीवा, रमेश र अशोकलाई छोडेर गएका छन्।