चेन्नई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको आगामी फिल्म ‘जेलर २’ को सेटमा एक कर्मचारीको मृत्यु भएको छ । चेन्नईको इस्ट कोस्ट रोडमा रहेको पनैयुरको आदित्यराम फिल्म सिटीको सेटमा करेन्ट लागेर कर्मचारीको मृत्यु भएको हो ।
पीटीआईको समाचारअनुसार, मृतकको पहिचान २८ वर्षीय कार्तिकेयनको रूपमा गरिएको छ । यो दुर्घटना पनैयुरमा सुटिङ स्थलमा भएको हो । रिपोर्टका अनुसार, फिल्मको सुटिङको लागि घर जस्तो सेट तयार गर्ने काम गरिरहँदा कार्तिकेयनलाई बिजुलीको झट्का लागेको थियो । त्यसपछि उनको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कार्तिकेयन कला निर्देशनको काममा संलग्न थिए । कनाथुर प्रहरीले यस घटनामा कुनै पनि एफआईआर दर्ता नभएको बताएको छ । प्रहरीले विद्युतीय चुहावट के कारणले भयो भनेर अनुसन्धान गरिरहेको बताएको छ ।