काठमाडौं । भारतमा नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट तथा सीबीएसईको अनलाइन मूल्यांकन प्रणाली (ओएसएम) मा भएको भनिएको अनियमितताविरुद्ध ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा सहभागीहरूले ‘धर्मेन्द्र प्रधान इस्तीफा दो र हामीले ‘मेक इन इन्डिया’ माग्यौं, तपाईंहरूले ‘लिक इन इन्डिया’ दिनुभयो’ जस्ता नाराहरू लगाएका थिए ।
सीजेपीका संस्थापक अभिजित दिप्के अमेरिकाको बोस्टनबाट दिल्ली पुगेर आन्दोलनको नेतृत्व गरिरहेका छन् । दिल्ली विमानस्थलमा उनी भारतीय संविधानका निर्माता डा. भीमराव अम्बेडकरसँग सम्बन्धित पुस्तक बोकेको अवस्थामा देखिएका थिए ।
दिल्ली प्रहरीको अतिरिक्त कार्यालयले जारी गरेको आदेशअनुसार सीजेपीलाई शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जन्तर–मन्तरमा प्रदर्शन गर्न एकपटकका लागि विशेष अनुमति प्रदान गरिएको थियो । आदेशमा सर्वोच्च अदालतका निर्देशिका तथा सम्बन्धित कानुनी प्रावधानअनुसार अनुमति दिइएको उल्लेख गरिएको छ ।