August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प

काठमाडौं । भेनेजुएलामा शक्तिशाली भूकम्प आएको छ ।भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भवनहरूमा क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उच्च मानवीय क्षति र व्यापक विनाशको सम्भावना रहेको जनाएको छ।

रोयटर्सका अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु काराकासबाट करिब १६० किलोमिटर पश्चिममा रहेको बताइएको छ।

Advertisement

अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक मूल्याङ्कनअनुसार १० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ४४ प्रतिशत र एक लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ३० प्रतिशत रहेको छ। यद्यपि समाचार तयार पार्दासम्म मृतक तथा घाइतेको आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

भूकम्पका कारण काराकासका धेरै भवनमा क्षति पुगेको, केही संरचना पूर्ण रूपमा भत्किएको तथा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको रोयटर्सले जनाएको छ। अस्पतालहरूलाई आपत्कालीन अवस्थामा राखिएको छ भने अधिकारीहरूले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।