November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

सर्वोच्चको फैसलाप्रति ओली पक्ष देखियो खुसी, प्रचण्ड–माधव पक्ष भने अन्यौंलमा

२०७७ फाल्गुन २३

काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम विवादमा गरेको फैसलाप्रति प्रधानमन्त्री केपी शर्मा ओली पक्ष खुसी देखिएको छ । ओली पक्षका नेताहरुले सामाजिक सञ्जाल र सञ्चार माध्यमलाई दिएको प्रतिक्रियाका आधारमा यस्तो देखिएको हो ।

अदालतले साबिककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँताईदिएको छ । जसबारे प्रतिक्रिया दिँदै ओली पक्षीय नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अदालतको फैसलाले पुनः नयाँ शिराबाट अगाडि बढ्न बाटो खुला गरेको बताए ।

फैसलालाई स्वागत गर्दै उनले भने, ‘सर्वोच्चको फैसलाले नेकपाभित्र जारी विवादलाई सकारात्मक ढंगले समाधान गर्न र नयाँ शिराबाट एकता गर्न बाटो खुलेको छ, जुन एकता ठोस नीतिमाथि आधारित होस, सही विचारमाथि आधारित होस ।’

Advertisement

ज्ञवालीले जस्तै ओली पक्षका महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेले अदालतको फैसला कानूनी र संवैधानिक आधारमा आएको भन्दै घुमाउरो शैलीमा स्वागत गरेका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘‘हाम्रो हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्छौं, कानुनी र संवैधानिक आधार मानेर सर्वोच्च अदालतले फैसला लिएको छ ।’

प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि फैसलाले पार्टी एकतापूर्वको अवस्थामा फर्किएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘हामी अब २०७५जेष्ठ २ गतेको अवस्थामा फर्केका छौ।’

यता फैसलाप्रति प्रचण्ड–नेपाल पक्षमा भने अन्यौंलता देखिएको छ । प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फैसलामाथि प्रारम्भिक प्रतिक्रिया दिँदै निकै अनपेक्षित फैसला भएको बताएका छन् ।