November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

उद्घाटन र शिलान्यासमा प्रधानमन्त्री ओलीको दैनिकी

२०७७ फाल्गुन २४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी आयोजनाको उद्घाटन र शिलान्यासमा व्यस्त भएको छ । प्रधानमन्त्री ओलीले यो बीचमा दैनिकजसो केही न केही विकास आयोजनाको उद्घाटन वा शिलान्यास गरिरहेका छन्। 

प्रधानमन्त्री ओलीले यो बीचमा दर्जन बढी आयोजनाको शिलान्यास र उद्घाटन गरिसकेका छन्। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं पानी आएपछि फ्लस बटन थिचेर उनले उद्घाटन गरे। उनले यो खुशीयालीमा लड्डु खान र घरमा दिपावली गर्नसमेत आग्रह गरे।

प्रधानमन्त्रीले उद्घाटन वा शिलान्यास गरेका अधिकांश आयोजना न सम्पन्न भएका छन् न पूर्वतयारी सकिएका छन्। ओलीले उद्घाटन गरेका आयोजना सम्पन्न नै भएका छैनन् भने शिलान्यास गरेका आयोजना कार्यान्वयनको पूर्वशर्त नै पालना भएका छैनन्। 

Advertisement

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ तयारी पूरा नभएका आयोजना शिलान्यास गर्नु र सम्पन्न नभएका आयोजना उद्घाटन गर्नुलाई विकृतिको संज्ञा दिन्छन्। ‘सरकार प्रमुखले नै विधि मिच्नु ठिक होइन,’ श्रेष्ठले भने, ‘आयोजना कार्यान्वयनपूर्व गर्नुपर्ने तयारी गरिसकेपछि मात्रै शिलान्यास गर्ने हो। १० वर्षपछि सुरु नहुने आयोजना आज शिलान्यास गर्नु ठिक काम होइन।’

प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले पहिलेदेखिकै तयारीअनुसार अहिले शिलान्यास गरिएको बताए।