November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

चैत १५ देखि काठमाडौंमा मेलम्चीको पानी

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले चैत १५ गतेदेखि  काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने बताएका छन्। 

बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत १५ गते मेलम्चीको पानी वितरण गर्ने बताएका हुन्।  नगरपालिका संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ। कुनै दुर्घटना नहोस्। कुनै पाइप नफुटोस् भनेर हेरि हेरी हामी पानी वितरण गछौँ।’

बहुप्रतीक्षित मेलम्चीको पानी २२ वर्षपछि गत फागुन २२ गते काठमाडौं आइपुगेको थियो। काठमाडौं पुगेको २४ दिनपछि अर्थात् चैत १५ गतेदेखि मेलम्चीको पानी परीक्षणका रूपमा हरेकका धारा–धारामा पुग्दै छ। 

Advertisement

काठमाडौंका विभिन्न ठाउँमा मेलम्चीको पानी वितरणका लागि पाइपलाइन बिछ्याइए पनि त्यसको परीक्षण भएको छैन।  मेलम्ची खानेपानी वितरणका लागि अन्तिम परीक्षण बाँकी नै छ। तर, यता मेलम्ची उप-आयोजना २ का प्रवक्ता उज्ज्वल प्रजापतिले हालसम्म ८० हजार धाराका पोइन्ट जडान गरिएको  र  १५ हजार नयाँ मिटर जडान भइसकेको छ बताउँछन्। कुल १ लाख १० हजार धारा जोड्ने लक्ष्य रहेको थियो। तर अझै ३० हजार धारा जडान गर्ने काम बाँकी रहेको प्रवक्ता पराजुलीले बताए। 

आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार पहिलो चरणका लागि कुल १ हजार १३२ किमि पाइपलाइन बिछ्याउनुपर्नेमा करिब १५ किमि पाइपलाइन बिछ्याउने काम बाँकी रहेको प्रजापतिको भनाइ छ।