काठमाडाैं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो भएको टिप्पणी गरेका छन्।
काठमाडाैंमा शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता तोरी र कोदोको जस्तो भएको बताए।
उनले कोदो र तोरीले भिन्नाभिन्नै विशेषता बोकेको भए पनि एकै ठाउँमा राखेर पेल्दा तेल नभई पिना मात्रै निस्कने भएकाले ३ वर्षको अवधिमा सिंहदरबारबाट पिना मात्रै निस्किएको टिप्पणी गरे। त्यही सरकारका मन्त्रीले पनि मौरी र झिंगाको भेद नदेखेको भन्दै मौरी भएर कर्मशील ढंगले सेवा प्रदान गर्न कर्मचारीलाई सुझाव दिए।
उनले भने, ‘दुई वटैले मुठ्ठी बटारेका छन्। दुई वटैले लालसलाम भनेका छन्। उस्तै उस्तै लाग्यो। उहाँहरुले एकता गर्नुभयो। त्यो तोरी र कोदोको एकताजस्तो थियो। एउटा समयमा पुगेपछि यसरी नै टुंगिनुथियो। तोरी र कोदो मिलाएर तेल निकाल्न खोज्यो भने तेल निस्कँदैन। पिना मात्रै निस्कन्छ। ३ वर्षमा सिंहदरबारबाट त्यही पिना मात्रै निस्किएको छ ओलीजीको शासनबाट। त्यसैगरी उहाँको मन्त्री जीले पनि मौरी र झिंगाको भेद देख्नुभएन। म तपाईहरुलाई आग्रह गर्दछु। चित्त दुखाएर बस्ने काम छैन। बरु जसको दृष्टिदोष छ,तिनलाई बदल्ने छौं र मौरी भएर यो मुलुकको निर्माण गर्नलाई कर्मचारीतन्त्रले काम गर्नेछौं भनेर संकल्प लिनुपर्छ।’
बुधबार सिंहदरबारमा नेपाल सरकारका सचिवबीच एक कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका थिए।
सांसद अपहरणको आरोप लागेका सांसदलाई राज्य व्यवस्था तथा सुशासन समितिमा र सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोडको टेपकाण्डबारे सार्वजनिक लेखा समितिले छानबिन गरिरहेका पूर्वमन्त्रीलाई सोही समितिको सदस्य बनाइएको भन्दै सुशासन कायम गर्ने सम्बन्धमा प्रभावकारी ढंगले काम गर्न कर्मचारीलाई उनले आह्वान गरे।