November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

नयाँ सरकार गठनका लागि जसपाले सुरु गर्‍यो संवादहिनता तोड्दै आन्तरिक छलफल

काठमाडौं । नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी जसपाले छलफल सुरु गरेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न राखेको प्रस्तावमागि जसपामा छलफल सुरु भएको हो ।

आइतबार जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक र राई र राजेन्द्र श्रेष्ठबीच नयाँ सरकार गठनका विषयमा छलफल जुटेका हुन् ।

सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपा पार्टीभित्र लामो समयको संवादहिनता तोड्दै आन्तरिक छलफल सुरु भएको हो । यद्यपि, आइतबार भएको छलफल कुनै निस्कर्षमा पुग्न भने सकेन ।

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत हप्ता आफ्नै निवासमा नेकपा माओवादी केन्द्र र जसपा नेताहरुको बैठक राखेर आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि सहयोग मागेका थिए ।

स्रोतका अनुसार त्यतिबेला स्पष्ट जवाफ नदिएका जसपा नेताहरु नयाँ सरकार गठनकै विषयमा छलफलमा जुटेका हुन् ।

जसपाले शुक्रबार मात्रै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँगको वार्तामा छलफलका लागि समय मागेको थियो । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन प्रस्ताव राखेको थियो । माओवादी कांग्रेसको प्रस्तावमा सहमत भएपनि जसपाले भने सहमति जनाएको छैन ।

संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ सरकार निर्माणबारे भर्खरै छलफल सुरु भएको र केही दिन छलफल लम्बिने बताए ।

‘आज राजनीतिक विषयमा छलफल सुरु मात्रै भएको छ । बैठक निरन्तर बस्छ र ठोस निष्कर्षमा पुग्छौ,’ भट्टराईले नेपाल प्रेससँग भने । उनका अनुसार कांग्रेसको प्रस्तावलाई स्वीकार गर्ने वा आफ्ना एजेण्डाबारे प्रतिबद्धता खोज्ने भन्नेमा पनि छलफल थालिएको छ ।