November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

गण्डकीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव सोमबार टेबुल हुने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सोमबार प्रदेश सभा बैठकमा टेबुल हुने भएको छ। 

विपक्षी दलको मागअनुसार आह्वान भएको प्रदेश सभाको विशेष अधिवेशनको सोमबार बस्ने पहिलो बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको हो।

गण्डकी प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको आइतबार बसेको बैठक अविश्वास प्रस्ताव टेबुल गर्ने लगायतका कार्यसूचीका विषयमा टुंगो लगाएको छ। 

Advertisement

सोमबारको बैठकमा नेपाल कांग्रेसका प्रदेश सभा सदस्य एवम् संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री  कृष्णचन्द्र नेपाली पोखरेल बोल्ने छन्। यस्तै, बोल्न इच्छुक अन्य दलका सांसदलाई १० मिनेट बोल्ने समय उपलब्ध गराउने विषयमा पनि आइतबारको बैठकमा सहमति जुटेको छ। 

सोमबारको बैठकमा सांसदहरुले बोल्ने क्रम सकिएपछि मुख्यमन्त्री गुरुङले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्। 

दलका सांसद बोल्ने र मुख्य मन्त्रीको जवाफ सोमबार नसकिए मंगलबार सोही कार्य सूची रहने कार्य व्यवस्था परामर्श समितिका सदस्य एवम् नेपाली कांग्रेसका प्रदेश सांसद कुमार खड्काले जानकारी दिए। 

मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि संभवतः मंगलबार अविश्वास प्रस्तावको पक्ष/ विपक्षमा मतदान हुने खड्काको भनाइ छ। 

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सूचना पाएपछि मुख्यमन्त्री गुरुङले यही वैशाख २ गते राति प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए।