काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद उत्कर्षमा देखिन थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन तीन दिने म्याद दिएर आव्हान गरेसँगै जसपाभित्रको विवाद उत्कर्षमा देखिएको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन आव्हान गरेको प्रतिनिधि सभा बैठकमा जसपा स्पष्ट रुपमा दुई कित्तामा देखिएको थियो । जसपाको बहुमत समूहले ओलीको विपक्षमा मत हालेको थियो भने महन्थ ठाकूर समूहले तटस्थमा मत हालेको थियो ।
मतदानका बेलामा दुई कित्तामा देखिएको जसपाभित्र सत्ता समिकरण निर्माणको सुरुवातसँगै रडाको मच्चिएको हो । कांग्रेस र माओवादी केन्द्रसँग मिलेर उपेन्द्र यादवले सत्ता समिकरण निर्माणको प्रयास गरेसँगै महन्थ ठाकूर पक्ष कडा प्रतिपादमा उत्रिएको हो ।
उपेन्द्रको प्रयासलाई असफल बनाउने योजनामा महन्थ ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र नै पठाएका छन् । उनले आफुँ पार्टीको आधिकारिक अध्यक्ष भएको भन्दै आफुँहरु गठबन्धन सरकार निर्माण प्रक्रियामा सहभागी नहुने बताएका छन् ।
उपेन्द्रमाथि कारबाही गर्छौं : राजेन्द्र महतो
यसैबीच जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादव पक्षलाई कारबाहीको चेतावनी दिएका छन् । मंगलबार सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै उनले देउवा र माओवादीको उक्साहटमा पार्टी फुटाउन लागेको भन्दै कारबाही गर्ने चेतावनी दिए ।
‘अब उपेन्द्र यादवमाथि कारबाही हुन्छ। पार्टी फोडुवामाथि कारबाही गर्छौं। पार्टी फोडुवालाई छोड्न हुँदैन’ सञ्चारमाध्यमसँग महतोले भनेका छन्, ‘पार्टी फोड्नलाई एकता गरेको होइन। यो कुरा उपेन्द्रजीले बुझ्न पर्छ। कुनै कार्यकर्ता पार्टी फुटाउन तयार छैन।’
नेता महतोले उपेन्द्र वैकल्पिक सरकार निर्माण प्रक्रियामा जान चाहे पार्टी फुटाएर जानुपर्दछ । पार्टीभित्र आफुँहरु बहुमतमा रहेको महतोको जिकिर छ ।