November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

माग पूरा गर्न नेपाल पक्षले ओलीलाई दियो ४ बजेसम्मको अल्टिमेटम

काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार दिउँसो चार बजेसम्मको समयसीमा निर्धारण गरेको छ। त्यतिञ्जेल वातावरण नबने गम्भीर कदम चाल्ने निर्णय उसले गरेको छ।

बिहीबार दिउँसो बसेको यो पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो। स्थायी कमिटी सदस्य रघुजी पन्तले तलदेखि माथिसम्मका पार्टी संरचना २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार हुनुपर्ने बताए। त्यसो भएमा बाँकी विषयमा छलफल भएर पार्टी एकतावद्ध हुनसक्ने उनले बताए।

बैठकले चार बजेभित्र यो निर्णय नभए गम्भीर कदम चाल्ने निर्णय गरेको छ। ‘त्यो गम्भीर कदमबारे केही अन्योल छैन, संसदीय दलमा रहेका स्थायी कमिटी सदस्यहरु बसेर निर्णय गर्नुहुन्छ’, अर्का एक स्थायी कमिटी सदस्यले भने, ‘त्यो भनेको सांसदबाट राजीनामा हुनसक्छ।’

Advertisement

नेपाल पक्षका नेताहरुले सहमतिको सम्भावना भने अझै देखेका छन्। बिहीबार दिउँसो ओली र नेपालबीच भेटघाट हुनसक्ने र त्यसबीचमा अरु कुरा विकास हुनसक्ने उनीहरुको अपेक्षा छ। ती नेताले कारबाही फुकुवा सकारात्मक संकेत हो, तर मुख्य कुरा जेठ २ मै फर्कनुपर्ने बताए।