November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडाैं– संविधानको धारा ७६को ५ अनुसार प्रधानमन्त्रीका रुपमा विपक्षी गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन  माग गरिएको रिटमा आजबाट सुनुवाइ शुरु हुँदै छ।

१४६ सांसदले सर्वोच्च पुगेर दायर गरेको निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ। तीन महिनाको अवधिमा  दोस्रो पटक भएको प्रतिनिधि सभा विघटन बदर गर्न पनि रिटमा माग गरिएको छ। सर्वोच्चमा यो सहित ३० थान मुद्दा रहेका छन्। यी सवै मुद्दालाई साथै राखेर सर्वोच्चले सुनुवाइ गर्दै छ।

प्रधान न्यायाधीशसहित पाँच न्यायाधीश संलग्न रहने यो इजलासले अन्तरिम आदेश जारी गरेमा देउवा नयाँ प्रधानमन्त्री हुनेछन्। जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले पेश गरेको दुवै दावी खारेज गर्दै प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनको मिति तोकेकी थिइन्।

Advertisement

अघिल्लो पटक पुस ५ गते विघटन भएर फागुन ११ गते पुन:स्थापना भएको संसद फेरि विघटन भएपछि बहुमत सांसदहरु आफै सर्वोच्च पुगेका छन्।

 संवैधानिक इजलासमा कस कसलाई तोक्ने त्यो प्रधान न्यायाधीशको अधिकारभित्र पर्ने देखिन्छ। आजको सुनुवाइमा सर्वोच्चले अन्तरिम आदेश जारी नगरेमा लिखित जवाफ मगाएर सरकारलाई पनि छलफलमा बोलाउनेछ। सर्वोच्चले छिट्टै मिति तोकेर निरन्तर छलफल पनि गराउन सक्नेछ।